घरमा आमा बितिन्, महाकालीपारि छोरा बसे कोरामा
- गेरूवा बर्दिया
- Apr 15, 2020
- 1 min read
दार्चुलाका सहायक सिडिओ भन्छन्- केन्द्रले भन्यो भनेमात्र छोरालाई आउन दिइन्छ

लकडाउन, आइसोलेसन, क्वारेन्टिन, सोसल डिस्टयान्सिङ। दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का ३५ वर्षीय वासुदेव भट्टले जीवनमा कहिल्यै पनि यी शब्द सुनेका थिएनन्। उनलाई यी शब्दसँग कहिल्यै काम पनि परेको थिएन।
उनी त भारतका पहाडहरूमा केही महिना काम गर्थे। दुई-चार हजार भारू कमाउँथे। त्यही पैसाले घरको जोहो टार्थे। साल बदलिन्थे तर उनको भारतमा मजदुरी र नेपालको घरखर्चको चक्र सालसालै दोहोरिइरहन्थ्यो।
यसपालि हिउँदमा पनि उनी भारत गएका थिए। मजदुरी गर्दै थिए। संसारभरि तीव्र गतिमा फैलिरहेको कोरोनाबारे उनलाई खासै वास्ता थिएन। चीनदेखि उनले नामै नसुकेका युरोपका देशमा पुगेको कोरोनाले उनलाई केही असर पारेको थिएन।
तर केही साताअघि कोरोनाका कारण भारतभर लकडाउन भयो। ठेकेदारले ‘अब काम बन्द होगा’ भन्यो।
उनलाई लाग्यो-ठिकै छ त। अब आफ्नै देश फर्किन्छु। आमाबुवा र परिवारसँगै बस्छु।
उनी घर आउन हिँडे। जसै उनी दार्चुला सदरमुकामपारिको धार्चुला आइपुगे त्यहाँ उनीजस्तै देशको सीमाभित्र टेक्न चाहने सयौं नेपाली थिए।
उनीहरू टाढाटाढाबाट घर जाने भनेर आएका थिए। तर महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले गेट खोल्दै खोलेनन्। उनीहरू कहिले बगरमा बसे। कहिले चउरमा उभिए। आफ्नै देशमा फर्किन नपाउने भन्दै नाराबाजी गरे।
दार्चुलाका स्थानीय अधिकारीले काठमाडौं खबर गरे। सिंहदरबारले निर्देशन दियो-यो भावनामा बग्ने बेला होइन। जो-जो जहाँ छन् त्यही राख्नू। वारिका लाई पारि जान नदिनू, पारिका लाई वारि आउन नदिनू।
केहीले ज्यानको बाजी लगाएर महाकालीमा हाम फाले।
Comments